काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । भने भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जसकारण शनिबार बिहानैदेखि बागमतीसहित देशका ६ वटा प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको विभागले जनाएको छ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी राति, मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।