Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहसचिव सिंहद्वारा प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा

    गृहसचिव सिंहद्वारा प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरेका छन् । गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गरेका हुन् ।

    निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत र जवानहरुलाई भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन निर्देशन दिएका छन् ।



    उनले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।



    गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवम् ईमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन गर्न निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए ।

    गृहसचिव सिंहले प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, समाजमा शान्ति स्थापना र मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहनु र राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरीको मर्म अनुसार सीमित स्रोत साधनको वावजूद पनि प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा गर्दै सत्य सेवा सुरक्षणमको मूल नारा सहित प्रहरी संगठनले आफ्नो विशिष्ट योगदान इतिहासका हरेक कालखण्डमा स्थापित गर्दै आएकोमा नेपाल प्रहरीमा आवद्ध सबै कर्मचारीको लागि गौरवको विषय भएको उल्लेखगरे ।

    गृहसचिव सिंहले हरेक विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न क्रियाकलापमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही भूमिका निर्वाह गरेको चर्चा गर्दै प्रहरीको क्रियाकलापहरू सहजीकरण एवम् अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाममा समाज र नागरिकको सहयोग आवश्यक रहेकोले नागरिकसँगको प्रहरी सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिए ।

    विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँ नयाँ प्रवृत्ति र शैलीप्रति नेपाल प्रहरी चनाखो रहेको उल्लेख गर्दै प्रहरी संगठनको सुधारका कार्यहरूलाई अगाडि बढाएर प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

    सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई पालना गरी नतिजा दिने प्रतिवद्धता गरे ।

    स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी वहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने बताए ।

    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणी पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार