काठमाडौं । हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।
मौसमविद्का अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।