Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कर्णालीमा विपद्‌बाट ४९ जनाको मृत्यु, २५ व्यक्ति बेपत्ता

सुर्खेत । गत असोज अन्तिम साताको मनसुनजन्य विपत्‌का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन्।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत्‌ सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपत्‌ प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए।

‘असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा १०/१० जना, कालीकोटमा ९, हुम्लामा ८, डोल्पामा २ र दैलेखमा १ गरी ४१ व्यक्तिको मृत्यु भएको थियो,’ उनले भने, ‘विपत्‌का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ।’ त्यस्तै, दैलेखमा ३, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा १/१ गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए।

चालु आव ०७९/०८० को साउन, भदौ र असोज महिनामा विपत्‌बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन। यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार २० हजार ७९४ परिवार विस्थापित भएका छन्। विस्थापित हुनेमा ७ हजार ४१८ कालीकोट र ५ हजार २८२ जना मुगुकै मात्र छन्।

त्यस्तै, ३ हजार २८६ हुम्ला, जुम्लामा १ हजार ९५२, दैलेख १ हजार ६२०, सल्यान ६०४ र सुर्खेतमा ५६६, डोल्पामा ३२, जाजरकोट र रुकुमपश्चिम १७/१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले जनाए।

उनका अनुसार विपत्‌बाट कर्णालीमा हालसम्म २ हजार २५९ घर पूर्ण र दुई हजार ६८४ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन्।

कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट २ व्यक्तिको मृत्यु भएको बताइएको छ। विपत्‌ पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए।

‘विपत्‌को समयमा १२८ मान्छेको उद्धार गरिएको थियो,’ सचिव भुसालले भने, ‘खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077