Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्री भुसालविरुद्ध लेखेपछि विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलापहरू भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।

“निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले आफ्नो सामाजिक सञ्जालमा ललितपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका ऊर्जामन्त्रीविरुद्ध सामग्री राख्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?” स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत ललितपुर जिल्लामा उम्मेदवार रहनुभएको व्यक्तिविरुद्ध निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नुभएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077