काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ ।
उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले शुक्रबार (भोलि) काठमाडौंमा आमसभा गर्ने भएको छ ।
चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने पाठकले जानकारी दिए ।
उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ।