Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस काउन्सिलविरुद्ध परेको रिट खारेज, अनलाइन नियमनको पाटो थप स्पष्ट

काठमाडौं । उच्च अदालत पाटनले प्रेस काउन्सिल नेपालविरुद्ध परेको रिट खारेज गरेको छ । बुधबार न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेज हुने फैसला भएको हो ।

आचारसंहिताविपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आज डटकमका सञ्चालक माधव प्रसाद गुरागाईंले रिट दायर गरेका थिए । अदालतले बुधबार अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालको पक्षमा फैसला गरेको हो ।

पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो । काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो । यस फैसलासँगै काउन्सिललाई अनलाइन र न्यु मिडियाका लागि नियमन र अनुगमनको पाटो थप स्पष्ट भएको छ । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने जनाइएको छ ।

सो मुद्दामा काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, झबिन्द्र भुसाल र प्रतिभा उप्रेतिले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077