Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेनमार्क र ट्युनिसियाको गोलरहित बराबरी

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्।

आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको २२औं संस्करणअन्तर्गत कतारको एजुकेसन सिटी रंगशालामा कुनै गोल हुन सकेन। दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा डेडलक कायम रह्यो।

सन् २००२ मा मैत्रीपूर्ण खेलमा आमनेसामने भएका टुयुनिसिया र डेनमार्कको विश्वकपमा पहिलो भेट हो। जापानमा भएको त्यो मैत्रीपूर्ण खेलमा डेनमार्क २-१ ले विजयी भएको थियो।

मोहमेद ड्रागरले ११औं मिनेटमा गरेको प्रहार डेनिस डिफेन्डर क्रिस्टियनसेनलाई ठोक्किएर बाहिरिँदा ट्युनिसियाले अग्रता लिने मौका गुमाएको थियो।

विश्वकपका पछिल्ला १५ मध्ये १४ खेलमा गरी ट्युनिसियाले २५ गोल खाएको थियो। सन् १९७८ मा वेस्ट जर्मनीविरुद्ध एक मात्र खेलमा ट्युनिसियाले गोल नखाई ०-० को बराबरी खेलेको थियो।

पाँचौं पटक विश्वकप खेलिरहेको ट्युनिसिया ४४ वर्षपछि पहिलो पटक गोल खानबाट बच्यो। डेनिस प्लेमेकर क्रिस्टियन एरिकनले २०औं मिनेटमा प्रहार गरेको कर्नरमा योहाकिम एन्डरसनको हेडर बाहिरिएको थियो।

ऐसा लाइडोनीले ५० औं मिनेटमा दिएको पास अनिस बेन स्लिमानेले नियन्त्रणमा लिन नसक्दा ट्युनिसियाले सुन्दर मौका गुमाएको थियो। त्यसको ६ मिनेट नबित्दै एन्द्रेस स्कोभ ओल्सेनले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

डेनिस प्लेमेकर क्रिस्टियन एरिकसनले ६९औं मिनेटमा गरेको सशक्त प्रहारमा ट्युनिसियाका गोलकपिर एइमेन डामेन बाधक बनेका थिए। उनको बचाउसँगै पाएको कर्नरमा डेनमार्कले कुनै आक्रमणको मौका बुन्न सकेन।

इन्ज्युरी समयको दोस्रो मिनेटमा एरिकसनले क्रस गरेको बलले यासिन मेरियाको हातमा लागेपछि रेफ्रीले भिडियो रिभ्यु हेरे पनि पेनाल्टी दिएनन्।समूह ‘डी’कै अर्को खेलमा मंगलबार राति फ्रान्स र अस्ट्रेलिया आमनेसामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077