Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा ४ हजार ६ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्मभएको छ। सरदर प्रतिकिलो रु ११० का दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन्।

यसअनुसार निकासी भएको स्याउको मूल्य रु ५० करोड ८२ लाख हुन आउँछ केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षका तुलनामा यसपाली १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिए।

‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो,’ उनले भने ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ विरुवा थपिएकाले उत्पादन बढेको हो।’

कूल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ। जिल्लाका पाँचवटै स्थानीय तहमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ। क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए।

यसैगरी जिल्लामा कुल स्याउ उत्पादन मध्ये यस वर्ष ४ सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ। जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ। तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन्।

यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ। नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न ६ चिस्यान गृहमा करिब ७० मेट्रिक्टन स्याउ भण्डारण गरेर राखिएको उनले बताए। फागुन चैतको ‘बेसिजन’मा चिस्यानकेन्द्रको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन्।

परियोजनाले स्याउ जोन कार्यक्रम अन्तर्गत १२५ सहकारी/समूह/निजी फर्मका कार्यक्रम सञ्चालित छन्। कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गरिरहेको छ। मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ। बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन्। भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन्।

समुद्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाइँभन्दा माथि स्याउ खेती गरिन्छ। मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ। जिल्लाका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ।

उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ। मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीहरुले स्याउ कोशेलीका रुपमा लैजान्छन्। साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकहरुले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन्। स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ उद्योग छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077