Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई बालेनको जवाफ - सुकुम्वासीहरू तपाईंका लागि भोट बैंक मात्र भए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कडा आपत्ति जनाएका छन् ।

उनले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका हुन् । महानगरपालिकाले थापाथलीस्थित सु्कुम्वासी हटाउन लागेको बारे अध्यक्ष ओलीले पार्टी कार्यालयमा बोल्दै वैकल्पिक व्यवस्थापन गरी उठाउनुपर्नेमा बल प्रयोग गर्नू निन्दनीय भएको बताएका थिए ।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए ।

बालेनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -'अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।

सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।' बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077