Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • केपी ओलीका ‘प्रिय’ जो सांसद बन्न सकेनन्

    केपी ओलीका ‘प्रिय’ जो सांसद बन्न सकेनन्

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 900
    SHARES

    काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमाले दोस्रो ठूलो दल बनेको छ । सत्ता साझेदार पाँच दलीय गठबन्धन एकातिर र एमाले एक्लै एकातिर चुनाव लडेको अवस्थामा पनि एमालेले प्रत्यक्ष तर्फका १६५ सिटमध्ये ४४ सिटमा जित हासिल गरेर दोस्रो ठूलो पार्टी बनेको हो ।

    यद्यपी एमालेले समानुपातिकमा भने कांग्रेसको भन्दा बढी मत पाएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ८० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताएर संसद्को सबैभन्दा ठूलो दल बनेको एमालेले यसपटक ४४ सिटमा जित हासिल गरेको हो ।



    गठबन्धन गरेरै सत्ता गठबन्धन निर्वाचनमा होमिएपछि यसपटक एमालेले प्रत्यक्षमा अघिल्लो निर्वाचनको तुलनामा धेरै सिट गुमाउनुपर्यो । जसबाट कतिपय एमालेका चर्चित एवं अध्यक्ष केपी ओलीका ‘किचेन क्याबिनेट’ का सदस्यहरु पराजित बन्न पुगे भने थोरैले चुनाव जिते ।



    ओली किचेन क्याबिनेटमा १४ सदस्य रहेको भनिएकोमा ४ जनाले प्रतिनिधिसभामा जित हात पारेका छन् भने १० जनाले पराजय भोगेका छन् । ओली किचेन क्याबिनेट भनिएका विष्णु पौडेल, सुवास नेम्बाङ, गोकुल बास्कोटा र सूर्य थापाले मात्रै जित हात पारेका छन् ।

    जसले चुनाव हारे
    ईश्वर पोखरेल
    बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि यसपटक पराजित भए । उनी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भए । आप्mनो पूर्व क्षेत्र काठमाडौं– ५ बाटै उम्मेदवारी दिएका पोखरेल पौडेलसँग ५ हजार भन्दा धेरै मतान्तरले पराजित भए । पौडेलले १५ हजार २६९ मत ल्याउँदा पोखरेल १० हजार १९० मतमा सीमित भएका थिए ।

    शंकर पोखरेल
    यसपटकको निर्वाचनमा एमाले महासचिव शंकर पोखरेल पनि पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरेकी हुन् । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका पोखरेल यसपटक प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका थिए । शर्माले २६ हजार ८८० मत ल्याउँदा पोखरेलले २६६८७ मत ल्याएका थिए । पोखरेल १९३ मतले शर्मासँग पराजित भए ।

    प्रदीप ज्ञवाली
    गुल्मीबाट उम्मेदवारी दिएका प्रदीप ज्ञवालीले यसपटक अघिल्लो जितलाई निरन्तरता दिन सकेनन् । अघिल्लो निर्वाचनमा जसलाई पराजित गरेर प्रतिनिधिसभामा प्रवेश गरेका थिए, तिनै उम्मेदवारसँग करिब १५ सय मतान्तरले पराजित हुँदै ज्ञवाली यसपटक प्रतिनिधिसभा बाहिर बस्न बाध्य भए । उनी नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भए । भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका थिए ।

    राजन भट्टराई
    काठमाडौं–४ बाट दोस्रो पटक उम्मेदवारी दिएका डा. राजन भट्टराई यसपटक पनि कांग्रेस महामन्त्री गगन थापासँगै पराजित भए । यसअघि २०७४ को निर्वाचनमा पनि थापासँगै पराजित भएका भट्टराई यसपटक करिब ८ हजार मतान्तरले पराजित भए । विजयी थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत ल्याएका थिए । उनलाई अध्यक्ष ओलीको परराष्ट्रलगायतका क्षेत्र हेर्ने विशेष व्यक्तिका रुपमा मानिन्छ ।

    विशाल भट्टराई
    नेकपा एमालेको प्रमुख सचेतकको जिम्मेवारी दिँदै ओलीले भट्टराईलाई आफू निकटको व्यक्ति भएको पुष्टी गरेका थिए । उनै भट्टराईले यसपटक खोटाङबाट पराजय भोग्न प¥यो । भट्टराई माओवादी केन्द्रकै रामकुमार राईसँग पराजित भए । राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले भने २८ हजार ६ सय ८२ मत ल्याएका छन् ।

    महेश बस्नेत
    पार्टीभित्र ‘बा’ को सिस्टमलाई पहिचान दिँदै स्थापित समेत गराएका ओलीले बसोबासस्थल भक्तपुरका महेश बस्नेतको पराजयलाई ठूलो ‘घाटा’का रुपमा लिएको जनाइएको छ । भक्तपुरको विकासका लागि २४ सै घण्टा खटिएको दावी गर्ने बस्नेत नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भए । थापाले २४ हजार २ सय ३९ मत ल्याउँदा बस्नेतले २३ हजार २८२ मत ल्याए । यसरी बस्नेत थापासँग ९५७ मतले पराजित भए । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध दिएका केही अभिव्यक्ति नै उनको पराजयको कारक मान्नेहरु पनि यदाकदा छन् ।

    भानुभक्त ढकाल
    मोरङ– ३ बाट उम्मेदवारी दिएका भानुभक्त ढकाल यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका सुनिल शर्मासँग पराजित भए । उनी शर्मासँग ठूलो मतान्तरले पराजित हुन पुगे । शर्माले ४८ हजार ६ सय ३१ मत ल्याउँदा ढकाल २५ हजार ८९५ मतमा सीमित भए । अध्यक्ष ओलीका विश्वासपात्र मानिएका ढकाल कोरोना महामारीको रुपमा स्वास्थ्यमन्त्री रहेका बेला विवादित बनेका थिए ।

    अग्नि खरेल
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित बनेका अग्निप्रसाद खरेल नेकपा एमालेबाट सर्वाधिक अवसर पाउने पात्रका रुपमा चिनिन्छन् । कानुन व्यवसायी समेत रहेका खरेलले महान्यायाधिवक्ताका साथै कानुन मन्त्री बन्ने पनि अवसर पाएका छन् । खरेल यसपटक विश्वप्रकाश शर्मासँग १४ हजार बढी मतान्तरले पराजित भए । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत ल्याए ।

    शेरधन राई
    ओलीको विश्वासपात्र बन्दै प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई यसपटक पराजित भए । उनी भोजपुरबाट पराजित भएका हुन् । नेकपा माओवादी केन्द्रका सुदन किराँतीसँग पराजित बनेका शेरधन कहिलेकाहिँ पार्टीभित्रै विवादित समेत बन्ने गरेका थिए । किराँतीले २८ हजार ५९१ मत ल्याउँदा राईले २६ हजार २०२ मत ल्याएका थिए ।

    निरुदेवी पाल
    एमाले युवा नेतृ निरुदेवी पाल कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकसँग पराजित भईन् । लेखकले ३० हजार ५७५ मत ल्याउँदा पालले १८ हजार ४८५ मत ल्याएकी थिइन् ।

    जसले चुनाव जिते
    सुवास नेम्वाङ
    अध्यक्ष ओली निकट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संविधान सभाको सभामुख भइसकेका नेता नेम्वाङ लामो समयदेखि ओलीको कित्तामा रहेर राजनीति गरिरहेका छन् ।

    विष्णु पौडेल
    अध्यक्ष ओलीको किचन क्याबिनेटका नेता एवं विश्वास पात्र विष्णु पौडेलले पनि चुनाव जितेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल विजयी भएका हुन् । पौडेलले २७ हजार १४८ मत प्राप्त गरेका थिए । पौडेल ओलीको प्रधानमन्त्री कालमा उपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका पात्र हुन् ।

    गोकुल बास्कोटा
    गोकुल बास्कोटा अध्यक्ष ओलीका खास पात्र हुन् । उनले यसअघि सञ्चार मन्त्री हुँदा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि ओलीले उनको पटक पटक बचाउ गर्दै आएका छन् । ओलीको किचन क्याबिनेटमा पहुँच राख्ने बास्कोटाले काभ्रे क्षेत्र २ बाट निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन् । बास्कोटाले ४५ हजार ३४५ मत पाएका थिए । हुमागाईले ३९ हजार ४२८ मत पाएका थिए ।

    सूर्य थापा
    ओलीको खास पात्र एमाले नेता सूर्य थापा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेता थापा प्यूठानमा निर्वाचित भएका हुन् । थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पराजित गरेका हुन् । थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन् । थापा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार