Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नदीजन्य पदार्थ उत्खनन गर्दा दुई करोड ५७ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित सातविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए.एण्ड डि.बि. कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङविरूद्ध आरोपपत्र दायर भएको हो।

यस्तै दुवाकोट कन्स्ट्रक्सन प्रा.लि. भक्तपुरका संचालक राम चन्द्र प्रसाद प्रधानाङ्ग, सालीनदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा।लिका सञ्चालक वेद नारायण दंगाल र आधिकारिक प्रतिनिधि सत्यमान लामाविरूद्ध पनि मुद्दा दायर भएको हो।

गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारेर राजस्व चुहावट गरेको भन्ने आरोप छ। यसरी राजस्व चुहावट गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो।

गाउँपालिका क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेका नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा उपयोग गरी राजस्व संकलन गर्न २०७५/०८/१८ गते सूचना प्रकाशन भएको थियो।

उक्त सूचनामा उल्लेख भएभन्दा कम परिमाण संकलन गर्ने भनेर कबोल अंकभन्दा घटी सम्झौता रकम कायम गरी व्यावसायीहरूले अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेसँग सम्झौता गरेका थिए।

स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा मंसिर, पुस र माघ महिनामा मात्र जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानी एवं रेखदेखमा स्काभेटर मेसिन प्रयोग गरी उत्खनन् गर्न सकिने व्यवस्था छ। तर आफूहरूलाई नभएको अधिकारसमेत प्रयोग गरी अध्यक्षले स्काभेटर मेसिन प्रयोग गर्न स्वीकृति दिएका थिए।

यसरी उनीहरूले दुई करोड ५७ लाख २ हजार १९८ रुपैयाँ घटी राजस्व संकलन गर्ने गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। अख्तियारले अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेलाई चुहावट गरेको रकमभन्दा दोब्बर ५ करोड १४ लाख ४ हजार ३९७ रुपैयाँ जरिवाना हुने मागदाबी गरेको छ।

ए। एन्ड डि.बि. कन्स्ट्रक्सन प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङले ५२ लाख २३ हजार ६१३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ। यस्तै दुवाकोट कन्स्ट्रक्सन प्रालि भक्तपुरका संचालक रामचन्द्रप्रसाद प्रधानाङ्‍गले एक करोड २९ लाख ४५ हजार २५१ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ।

सालीनदी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालक वेद नारायण दंगालले ७५ लाख ३३ हजार ३३३ रुपैयाँ र आधिकारिक प्रतिनिधि सत्यमान लामाले दुई करोड ४ लाख ७८ हजार ५८५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरूविरूद्ध राष्ट्रसेवकलाई हुने बमोजिम नै सजायको मागदाबी लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077