काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुसु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।
यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको मौमसविद्ले जनाएका छन् ।