काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत भएको दाबी गरेका छन् ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । उनले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत स्पष्ट पारे ।
‘मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ । त्यसपछि सञ्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठीक भइसकेको छैन,’ उनले भने, ‘तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याविनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’
यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनले बताए । साथै उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए ।