Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

न घर छ, न जग्गा छ, पैतृक सम्पत्ति बेचेर ऋणपान तिरेँ, बाँकी पैसा पार्टीलाई दिए : नारायणकाजी

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताएका हुन्। उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए।

‘राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,’ उनले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु।’ आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए।

‘तपाईंहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन। तपाईंहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो,’ उनले भने, ‘ऐन, नियमविपरीत तपाईंहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।’

कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहनुभएका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैं केन्द्रमा रहेको बताए। उनले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077