काठमाडौं । आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच, आइतबारदेखि तराई भू–भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु÷कुहिरो लागेको छ ।
भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । चिसोले दैनिक जनजीवन प्रभावित हुने भन्दै विभागले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।