काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि सोही प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा मौसम सफा रहने छ । यस्तै काठमाडौंमा आज बिहान तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।
दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्ले जनाएका छन् । हिमपात र बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने महाशाखाको भनाइ छ ।