Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पाकिस्तानबाट भिजिट भिसामा नेपाल बोलाए, अपहरण गरी लिए २५ लाख फिरौती

काठमाडौं । काठमाडौंमा बसेर पाकिस्तानी नागरिकलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा तीनजना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बूढानीलकण्ठ बस्ने ३० वर्षका मुहम्मद रसिद, लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाक्पात्तनका ३५ वर्षका मुहम्मद फिदा हुसैनलाई पक्राउ गरेको हो ।

उनीहरु पनि पाकिस्तानी नागरिक भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा बसालेका थिए ।

यही पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर आँखामा पट्टी बाँधी हातखुट्टा प्लाष्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएका थिए ।

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपियाँ र २४ हजार दिरामसमेत गरी जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाए पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडि फरार भएका थिए।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँग समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास भएको थियो ।

सो क्रममा घटनामा संलग्न रहेका व्यक्तिहरूलाई घटनामा प्रयोग गरेका दसीका सामान सहित पुस २८ गते बूढानीलकण्ठ नगरपालिका–४ स्थित भाडाको घरबाट पक्राउ गरेको थियो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077