Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जग्गाधनीको जानकारी बिना कित्ताबाट जग्गा गायब, नापीका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृतसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । रुपन्देहीको साविक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी देखिएको आरोप छ ।

विज्ञप्तिमा नापी अधिकृत घनश्याम दुवे र सर्वेक्षक ठाकुर प्रसाद गुरौले रुपन्देही जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको माग दाबी लिइएको उल्लेख छ ।

यसैगरी, बुटवल १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन,

२०५९ को दफा २२ बमोजिमको कसूर गरेकोले निजहरु शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसूरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077