Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस, कोइरीलाई पक्राउ गर्न पटक पटक सर्कुलर

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखितरूपमा पत्राचार गरेपछि प्रहरीप्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो ।

प्रहरीले कोइरीलाई पक्राउ गर्न यसअघि एक महिने अवधिमा अनौपचारिकरूपमा ७७ वटै जिल्लाका प्रहरी संयन्त्रलाई दुईपटक सर्कुलर गरिसकेको थियो । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामा नै छिर्न सफल भए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृहको लिखित पत्रपछि देशभरका प्रहरी संयन्त्रलाई कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयबाट लिखितपत्र आएपछि प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रलाई सर्कुलर गरिसकेको छ, पहिले पनि सर्कुलर गरेका हौं, अहिले पनि सर्कुलर भएको छ, जहाँ भए पनि नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता राईले भने ।

कोइरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । उनले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077