काठमाडौं । अकुत सम्पति आर्जनको अभियोग लागेका भन्सार विभागका नायब सुब्बा देवीबहादुर थापाले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको बुधबारको इजलासले उनीहरुविरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएका हुन् ।
झण्डै २ करोड रुपैयाँ अकुत सम्पति कमाएर देवीबहादुरले आफ्ना बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउतको नाममा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तर अख्तियारले प्रतिवादी बनाएका उनीहरु चारै जनालाई विशेष अदालतले सफाइ दिएको हो । ५ साउन २०५६ मा विचारी पदबाट सेवा प्रवेश गरेका थापाले जाँच अवधि आर्थिक वर्ष २०७५/७६ सम्म १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ अकुत सम्पति कमाएको देखिएको अख्तियारको दाबी थियो ।