रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरीमाथि चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
डाँका चोरी र ज्यान मार्ने उद्योगमा फरार रहेका गौर-८ कोइरी टोलका १९ वर्षीय राहुल यादव र अर्का व्यक्तिले सहायक हवल्दार सुरेश यादवमाथि चक्कु प्रहार गरेका हुन् ।
गौर नगरपालिका २ लालबकैया खोलापारी केराघारीमा फरार यादवलाई पक्राउ गर्न गएको प्रहरीमाथी नै चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक हवल्दार यादव घाइते भएका छन्।
यादवको दाहिने हातमा चोट लागेको छ। प्रहरीमाथि आक्रमण भएपछि एक राउण्ड हवाईफायर गरी राहुललाई नियन्त्रणमा लिएको रौतहट प्रहरीले बतायो ।
घटनास्थलबाट भागेका गौर ४ का १९ वर्षीय रवि यादवलाई प्रहरीले बिहीबार बिहान १० बजेतिर पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।