काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले त्रिकोणात्मक सिरिजअघि टीम युनिटी राम्रो भएको बताएका छन् ।
सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले यस्तो बताएका हुन् । उनले स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय श्रृंखलाअघि नेपाली टीमको अहिले युनिटीमात्रै नभएर सबै कुरा राम्रो भएको बताए ।
पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलामा स्कटल्याण्ड र नामिवियालाई घरेलु मैदानमा चुनौति दिन नेपाल टिम तयार रहेको बताए । प्रमुख प्रशिक्षकका रुपमा मोन्टी देशाईको आगमनपछि नेपाल टिममा उल्लेखनीय सुधार आएको उनको भनाई छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको श्रृंखला नेपाललाई एकदिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण रहेको छ ।
आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोवल क्वालिफायरमा स्थान बनाउन तथा चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाइराख्न नेपालले शृंखलाका आगामी १२ खेलमा राम्रो नतिजा ल्याउनु अनिवार्य छ ।