Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भन्सार अधिकृतसँग २ करोड १० लाख अकूत सम्पति, अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहरसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकाले उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारको दावी छ । केसीले २ करोड १० लाख बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन¸०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा मुद्दा चलाइएको छ।

केसीसँग २० करोड १० लाख विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय अख्तियारले माग गरेको छ।

केसीले जाँच अवधिमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम आंशिक श्रोत नपुगेको हिस्साको र जाँचअवधिपछि खरिद गरेका सम्पत्तिबाट समेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफतरअसुल उपर गर्न पनि अख्तियारले अदालतमा माग गरेको छ।

केसीले आफ्नो आम्दानीबाट घर जग्गा किन्नुका साथै आफ्नो र पत्नी सुशीला पण्डितको नाममा बैंकमा राखेको अख्तियारले बताएको छ । अख्तियारले केसीको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077