Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन एमाले अध्यक्ष ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन्।

प्रजातन्त्र दिवसमा अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रुपमा स्थापित गरेको बताए।

अध्यक्ष ओलीले जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर सहिद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौँ’, सन्देशमा भनिएको छ, ‘संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा एमालेको सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकाशबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो।’

अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको सन्देशमा उल्लेख छ। साथै संविधान सभामार्फत जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै सुशासन र विकासको दिशामा अघि बढिरहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077