Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशक बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपक बहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

अख्तियारले बुढाथोकीसहित सोमबार सवइन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष, अनुगमन समितिका संयोजकसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बाजुराको काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकासा भएको रकमका भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ ।

बुढाथोकी, तत्कालीन सवइन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव९इन्जिनियर दिपेश महताराले खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारले जनाएको छ ।

यस्तै निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ । जसअनुसार झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १,५६,५५३ बढी भुक्तानी दिएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

यसैगरी खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव वीर बहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समितिसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रुपमा फिल्डमा नभएको–नगरेको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई १,५६,५५३ हानी पुर्‍याएको अख्तियारको दाबी छ ।

साथै खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञान बहादुर शाहीले पनि फिल्डमा सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न नभएतापनि सम्झौताबमोजिम सम्पन्न भएको भनी अनुगमन गरेर गलत सिफारिस गरेको पाइएको छ ।

आरोपितहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको जरिवानाको सजाय हुन माग दाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077