वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै कारण आठ दलीय गठबन्धन नटुट्ने बताएका छन्।
कर्णाली प्रदेशसभामा आठ दलीय गठबन्धन भित्रका प्रदेश सांसदहरूलाई राष्ट्रपति निर्वाचनका सन्दर्भमा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति खड्काले यस्तो बताएका हुन्।
उनले भने, '१२ बुँदे शान्ति सम्झौताको पूर्ण पालना गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्नुछ। त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ। लोकतन्त्रको र संविधानको रक्षाका लागि पनि सबै दलको सहकार्य आवश्यक छ।
तर वर्तमान व्यवस्था नमान्ने, संविधान नमान्ने तत्वहरूसँग एमाले अध्यक्ष ओली निकट बन्ने र अहिलेको व्यवस्था, संविधान प्रतिप्रतिबद्ध दलहरूसँग टाढा हुने व्यवहारका कारण परिवर्तनका पक्षधर दलहरू एक ठाँउमा उभिएका छौँ। अब कुनै पदका कारण यो गठबन्धन तलमाथि हुँदैन।'
उनले निर्वाचनका बेला जनताका बीचमा पाँच वर्षसम्म सँगै रहेर काम गर्ने प्रतिवद्धता गरेको गठबन्धन गत पुस १० गते पदकै कारण टुट्न पुगेको भन्दै उनले अब पदकै कारण गठबन्धन नटुटाउने संकल्प गरी नयाँ गठबन्धन निर्माण गरेको दाबी गरे।
उनले पुस १० गते तत्कालीन गठबन्धन टुट्नुमा कांग्रेस नै बढी जिम्मेवार रहेको बताउँदै अब यो गठबन्धन पाँच वर्षसम्म नै जाने दाबी गरे।
उनले अहिलेको यो गठबन्धनले संघमा थुपारेर राखेका अधिकारीहरू संघीय संरचनाअनुसार तल्लो तहसम्म विस्तार गर्ने, राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने कार्यमा पूरा प्रतिबद्ध रहेको बताउँदै कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिनका लागि पनि प्रतिबद्ध रहेको बताए।