जाजरकोट । जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीको पुत्ला दहन गरिएको छ ।
एमाले नेता विश्वविक्रम शाह लगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै स्थानीय युवाहरूले उनको पुत्ला दहन गरेका हुन् ।
गत २२ गते स्थानीय युवालाई उपचार गरिरहेको अवस्थामा प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासि आएर अन्धाधुन्ध लठ्ठी चार्ज गरेको र गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेर थप यातना दिएको स्थानीय युवाहरूको आरोप छ । स्थानीय युवाहरूले बुधबार बेलुका ठाँटी बजारमा मसाल जुलुस निकालेका थिए ।
गुन्डागर्दी शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गरी विभागीय कारबाही गर्न स्थानीय युवाहरुले माग गरेका छन् । साथै घटनाको निष्पक्ष छानबिनका लागि नागरिक अगुवा, मानव अधिकार कर्मी, पत्रकार, युवा लगायतको सर्वपक्षीय छानबिन समिति बनाउन माग गरिएको छ ।