Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी एकता प्रयासमा धक्का !

काठमाडौं । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए।

दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ।

कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए।

नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए। स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो।

दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए। तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077