काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पौडेलले सोधे, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ । तपाईलाई के कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’
उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे ।
उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।