Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

काठमाडौं । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

उनले भने, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्याङ्कन हुन लागेको हो।”

चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको प्रवक्ता खड्काको भनाइ छ। निगमले यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गर्ने उनले बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077