Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी बनाएर ठगी धन्दा : कांग्रेसका क्षेत्रीय प्रतिनिधि राई समातिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका थप एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पूर्वान्चल क्षेत्रका नाइके पथरी घर भएका सागर राईलाई पक्राउ गरिएको हो ।

उनलाई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पथरी–शनिश्चरे नगरपालिका, वडा नम्बर १० का निर्वतमान वडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको बताइएको छ ।

आफू निर्वाचित वडाध्यक्ष भएकै बेलामा राईले पूर्वका जिल्ला केन्द्रित हुँदै अमेरिका जाने सपना देखाएर मोटो रकम उठाउन थालेका थिए । मोरङ पथरीबाट २ करोड रुपैयाँ ठगिएको भन्दै ९ जनाको टोलीले अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएको छ ।

पक्राउ परेका उनीहरूले गृह मन्त्रालयमा उच्च अधिकारी र कर्मचारीहरूको नामसमेत खोलेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077