Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राहदानी विभागको टोली पोर्चुगलमा

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्न राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो ।

विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो ।

बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त संकलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए ।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077