Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - युवा संघमा गुटबन्दी हुँदैन

राँझा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको संघको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गरे ।

“युवा संघ जस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन”, उनले भने, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”

नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले संगठन जुझारु नहुनेतर्फ इंगित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई संगठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गरे । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको बताउँदै उनले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा संघले योगदान पुर्‍याउने उल्लेख गरे ।

विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उनले भने, “युवालाई संगठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा संघको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा संघको चिनारी दिन आवश्यक छैन ।”

राष्ट्रिय युवा संघ एमालेको बलियो खम्बा हो भन्दै उनले यसले पार्टीलाई अफ्ठ्यारो परेको बेला नेपाली जनतालाई अफ्ठ्यारो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ बताए । अध्यक्ष ओलीले भने, “महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077