Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर ११ वर्षिया छोराको मृत्यु, बुवा–आमा घाइते

ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यसैगरी दोर्चीका बुवा र आमा घाइते भएको पनि प्रहरीले जनाएको छ ।

गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहररीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077