Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा भन्छन् - कांग्रेसले यतिबेला रुवाबासी गर्ने होइन, जिम्मेवारी पूरा गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे चिन्ता गर्नेभन्दा पनि पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने बेला आएको बताएका हुन्।

‘आम निर्वाचन आउन बाँकी चार वर्षमा कांग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्छ’, महामन्त्री थापाले भने, ‘उपनिर्वाचनको परिणामले पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होइन कि सरकार यसरी पो चलाउनुपर्छ भन्ने हिम्मत बटुल्नुपर्छ।’

उनले जो जहाँ छौँ त्यहीँ राम्रो काम गर्नुपर्छ भन्दै पार्टीका नेताहरूले अर्को पटक मौका पाउँला÷नपाउँला भनेर चिन्ता गर्नुभन्दा पनि अहिले पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौँ भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए। ‘अहिलेको आर्थिक सङ्कटको बेला गजबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्छ, कांग्रेसले अहिले नेतृत्व गरेको हजारौँ वडा छन्, केन्द्रको सरकार छ, सातवटा प्रदेशको सरकारमा कहीँ सहभागी भएका छौँ, कहीँ नेतृत्व गरिरहेको छौँ, तिनमा अझै चार वर्षको समय छ । त्यहाँ प्रतिबद्ध भएर काम गरौँ’, महामन्त्री थापाले भने।

सरकारमा हुँदा काम नगरेर नागरिकको मन जित्न नसक्ने हो भने फेरि सरकारमा दोहो¥याएर किन जाने भन्नेमा चिन्ता गर्नुप¥यो भन्दै उनले भने, ‘देशका तीन सय २९ वटा पालिकामा कांग्रेसले जितेको छ, त्यहाँ आत्मविश्वासका साथ चार वर्ष राम्रो काम गर्न सकेनौँ भने फेरि हामीले काम गर्ने मौका किन पाउने ?’

परिणाम देखाउने गरी सुशासनका साथ काम गरौँ रुवाबासी गर्नै पर्दैन भन्दै उनले हामी कहाँनिर चुक्यौँ सच्याउनका लागि पार्टीमा छलफल, समीक्षा र आत्ममूल्याङ्कन गरिरहेको बताए।

नेतृत्वलगायत पार्टीमा बस्ने सबैले कमजोरी सच्याएर अगाडि बढे पार्टी ठीक ठाउँमा आउने भन्दै उनले पार्टीभित्रको समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको बताए।

हामी जुन कुरामा चिन्ता गर्नुपर्ने त्यो कुरामा चिन्ता गरिरहेका छैनौँ भन्दै थापाले जुन कुरामा अहिले चिन्ता गर्नुपर्ने होइन त्यो कुरामा किन चिन्ता गर्ने भन्दै प्रश्न गरे।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, महासचिव योगेन्द्र कुँवर, पूर्वअध्यक्ष खीलानाथ दाहाल, छापाखाना तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष सुवर्णजङ्ग सिजापती, निवर्तमान जिल्ला अध्यक्ष विष्णु खड्कालगायतले श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वयन गर्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनपर्ने बताए।

ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनले लक्ष्मीशोभा प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077