सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व लिएको माओवादी केन्द्र चास्नीमा रमाउन थालेपछि घमण्ड बढ्दै गएको बताएका छन् ।
एकीकृत समाजवादीले सुर्खेतमा आयोजना गरेको संगठन सुदृढीकरण विशेष अभियानको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘बजेट बाँडफाँट गर्ने अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ठान्ने ! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित छन्। दम्भ र घमण्डले रावण जन्मायो। प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीका नेताहरूले दम्भ र घमण्ड गर्न सुहाउँदैन। सबैलाई समानताको व्यवहार गरेर अगाडि बढ्नुपर्छ।’
अध्यक्ष नेपालले माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहारले दुःखी हुनुपर्ने अवस्था आएको बताए ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले घमन्ड गर्दा दुई तिहाइ बहुमतको सरकार ढलेर पार्टी छिन्नभिन्न भएको, शेरबहादुरले घमन्ड गर्दा सरकारको नेतृत्वबाट बाहिरिनुपरेको र प्रचण्डले घमन्ड गर्ने हो भने त्यसै हुन बेर नलाग्ने दाबी गरे।
उनले नेकपा एमाले बाहेकका नेपालका कम्युनिष्ट शक्तिहरूबीचको एकता प्रक्रिया थालनी भइसकेको बताए ।