काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले यही वैशाख २६ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको छ ।
साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।
मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड रूपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा एकीकृत कारोबारको औपचारिक सुरुवात गरेका हुन् ।
जीवन बिमा आमजनताको जीवनमा अपरिहार्य रहेकाले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बिमा व्यवसाय गर्न अध्यक्ष सिलवालले सुझाब दिए । यस्तै मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बिमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बिमा सेवाप्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले प्रतिबद्धता व्यक्त गरे । मर्जर प्रक्रिया पूरा गर्न लगभग एक वर्ष लागेको थियो ।