Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरुलाई संगठित ठगी र राज्य विरुद्धको कसूर मुद्दा चलाउन राय दिएको हो ।

प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले हिरासतमा राखेको छ ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी,पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि प्रहरी हिरासतमा छन् ।

अन्य १६ जना भने अझै फरारकै अवस्थामा छन् । फरारको सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई रहेका छन् ।

यस्तै राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि फरार रहेका छन् ।

त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् । अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077