काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाएको बताएका छन्।
पार्टी कार्यालयमा जारी अनुशिक्षणमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाए ।
ओलीले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’
उनले आफू जिन्दगीभरि भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको बताए। यस्ता आरोप लगाउनेहरू देशद्रोही भएको उनको भनाइ छ।
अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको र त्यसैको कडीकोरूपमा यसलाई बुझ्नुपर्ने बताए। माओवादीका सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएपछि एमालेले संसदमा अवरोध गरेको छ ।