Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीमा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प, अध्यक्ष साउँद भन्छन् - लेखापाल नपाउने स्थिति छ

अछाम । चौरपाटी गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल अर्जुन प्रसाद जोशी एक महिना अघि सरुवा भएपछि कामकाज रोकिएको हो ।

असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारीको तलब निकासामा समस्या भएको छ । बिहीबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समीक्षा कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको जानकारी दिए ।

उनले अहिलेसम्म ७० प्रतिशत भन्दा बढी खर्च भएको देखिन्थ्यो तर एक महिनादेखि लेखापाल नहुँदा ५२ प्रतिशत मात्रै बजेट खर्च भएको बताए । चौरपाटी गाउँपालिकाले लेखापाल नपाउने स्थिति रहेको बताए । उनले भने, 'मैले धेरै लेखापाल, कोलेनिका हाकिम, सिडिओ सावसँग कुरा गर्दा पनि फलानो स्थानी तहमा छ भन्छन् तर उहाँहरूले पहिलो दिन आउँछु भन्छन् दोस्रो दिन यहाँको वातावरण बुझेर हो वा केही हो यही ठिक छ हजुर भन्छन् ।'

उनले अहिले लेखापाल नहुँदा ऋण निकालेर काम गर्नु परेको अवस्था आएको बताए । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको उनको भनाई छ ।

पालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर आउने गरे पनि रित्तो हात फर्किने गरेको बताइएको छ । लेखापाल नहुँदा पालिकाको बजेट निर्माणमा पनि समस्या आएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । यस्तै उनले सामाजिक सञ्जालमा भ्रामक प्रचार नगर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077