काठमाडौं । एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।
एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो । नयाँ प्रस्तावअनुसार भारत, नेपाल र पाकिस्तान रहेको समूह ’ए’ का खेल श्रीलंकामा हुनेछ।
बाँकी खेल भने पाकिस्तानमै गराउने प्रस्ताव छ। प्रतियोगिताका १३ खेलमध्ये चार वा सम्भवतः पाँच खेल श्रीलंकामा हुने प्रस्ताव छ। त्यसबाहेकका अरु खेल पाकिस्तानमा हुनेछन्।
भारत फाइनलमा पुगे सो खेल पनि श्रीलंका हुनेछ। प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।
नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ । भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो ।