काठमाडौं । नेपालले हङकङमा हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ ।
थाइल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो । नियमित तालिकाअनुसार नेपालले यो प्रतियोगिता खेल्न नपाउने थियो ।
प्रतियोगिता जुन १२ देखि २१ अर्थात् यही जेठ २९ देखि असार ६ गतेसम्म हङकङमा हुँदैछ । एसियाली क्रिकेट परिषदबाट नेपाललाई हिजो बुधवार प्रतियोगिता खेल्ने प्रस्ताव आएकोमा नेपालले सजिलै स्वीकार गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपाल आउँदो शनिवार वा आइतवार हङकङ जानेछ । प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले आयोजक हङकङसहित भारत र पाकिस्तानसँग खेल्नेछ ।