काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको बताएका छन् ।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको अध्यक्ष ओलीको भनाई छ । उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।
अध्यक्ष ओलीले भने, ‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एक्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौं।’
ओलीले ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भएपनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेरहद हटाइएको बताए । नेकपा एमालेले २०६५ सालमा ७० वर्ष पूरा भएकाहरुले पार्टी कमिटीमा बस्न नपाउने निर्णय गरेको थियो ।
तर १९ जेठमा बसेको एमाले सचिवालय बैठकले उक्त व्यवस्था निलम्बन गरेको थियो । ओलीले यो निर्णयको विरोध गर्नुभन्दा ७० वर्ष पुगेकाहरुलाई पराजित गरेर अघि बढ्न युवाहरुलाई चुनौती दिए ।