Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी नेपालमा बाढीको वितण्डा : २५ जना बेपत्ता, एक जनाको मृत्यु

पाँचथर । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको हो ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै,पाँचथरमा गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् ।

त्यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।

यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077