काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ गर्न यस्तो प्रस्ताव राखेका हुन् ।
उनले पछिल्लो समयको भ्रष्टाचारकाण्डको भने छानबिन गरिहाल्नुपर्ने उल्लेख गर्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्न पनि सुझाए ।
त्यस्तै, सांसद केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताए ।
उनले मुलुक भ्रष्टाचारको जालोमा जकडिएकाले यसलाई वास्तविक रूपमा सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह समेत गरे ।