काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोध कायमै राख्ने अडान राखेसँगै बैठक अनिश्चत बनेको छ ।
बैठकमा सञ्चालन गर्ने विषयमा सहमति नभएपछि बैठक अनिश्चित बनेको हो । प्रदेशसभाको आज (बुधबार) विहान ११ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन ।
आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा हिजो छलफल गर्ने कार्यसूची रहेको भएपनि बजेटमा सत्ता र प्रतिपक्षी दलका सांसदलाई भेदभाव गरिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले बैठक अवरोध गरेका थिए।
सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि हिजो अन्तिम समयमा आएर सूचना टाँसेर बैठक स्थगित भएको थियो।
ठोस सहमति हुन नसकेपछि आ-आफ्नो संसदीय दलको बैठकमा दलहरु अहिले व्यस्त रहेका छन् ।