विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएसँगै प्रदेशप्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका छन् ।
शुक्रबार मात्र अल्पमत परि कोशी प्रदेश सरकारबाट बाहिरिन पुगेको नेकपा एमालेले फेरि मुख्यमन्त्रीमा दाबी गरेको छ।
प्रदेश सभामा कुनैपनि दलको प्रष्ट बहुमत नरहेको कारण प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा रहेका दुई भन्दा बढि दलको समर्थन जुटाउन सक्नेलाई मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गर्नेछन् ।
तर, प्रदेश सरकारमा सत्ता गुमाएको एमालेले भने संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको आव्हान गर्न माग गरेको छ । एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर दाबी पेस गरेको बताईएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था रहेको छ । एमालेले माग गरेअनुसार प्रदेश प्रमुख खापुङले दाबी गर्न आव्हान गरेमा पुन: कोशी प्रदेशको मुख्यमन्त्रीमा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त हुनेछन् ।