Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कल बाइपासका लागि चिनियाँ नागिरिकलाई ठूलो परिमाणमा सिमकार्ड बेच्ने गिरोह पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियम विपरीत ठूलो परिमाणमा सिमकार्ड बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । कल बाइपासका लागि नियम मिचेर एकै व्यक्तिलाई सयौँ सिमकार्ड बिक्री गर्ने आठ जनालाई सिआइबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं कपन बस्ने रमन कार्की, गोरखा घर भई डल्लु बस्ने अर्जुनकुमार श्रेष्ठ, काभ्रे बनेपाका निलेश श्रेष्ठ, सिन्धुलीका अनिश कार्की, सिन्धुपाल्चोकका गोपाल श्रेष्ठ, सिन्धुलीका रेशम श्रेष्ठ, विशाल थापामगर र मुकुन्द सापकोटा छन्  ।

उनीहरुले बिक्री गरेका सिमकार्ड कल एसएमएस बाइपासलगायत अपराधमा प्रयोग भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । गत २३ जेठमा सिआइबीले कल तथा एसएमएस बाइपासमा संलग्न चिनियाँ नागरिक जाओ जियाङपेङ र उनका कर्मचारी गणेश श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा थप ११ जना पक्राउ परेको सिआइबीले जनाएको छ । जसमध्ये धेरैजसो सिम बिक्री तथा दुरुपयोगमा संलग्न छन् । यो घटनामा ली जेन र यु लान नाम गरेका थप दुई चिनियाँसमेत पक्राउ परेका छन् ।

प्रहरीले सो गिरोहबाट दुई हजार चार सय तीनवटा प्रयोग भएका र एक हजार तीन सय ९३ सिम बरामद गरेको थियो । यस्तै ठमेलमा होटेल चलाउन सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भएका गोपाल श्रेष्ठले चिनियाँ नागरिक जाओलाई भिओआइपीको अपराधमा सहयोग गरेको पनि खुलेको छ ।

भिजिट भिसामा बस्दै आएका चिनियाँले गोपालकै भाइ गणेशलाई कामदारका रूपमा राखेर नेपालमा भिओओपीको अपराध गर्दै आएका थिए । दुवै दाजुभाइलाई सिआइबीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरी थप अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077