Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारीको झोला खरिदमै ७ लाख भ्रष्टाचार, शाखा अधिकृतसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेशका वरिष्ठ शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार शाखा अधिकृत ओमनारायण झा र नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सहकारीको आयमूलक तालिम सञ्चालनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा उनीहरू विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

अधिकृत झाले आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको आय मूलक तालिम सञ्चालन नगरी एवं प्रक्रिया नपुर्‍याई पेस्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेस्की रकम फर्छ्यौट गरेको पाइएको थियो ।

साथै उनले अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध ७ लाख एक हजार तीन सय ८० रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना असुलउपरको मागदाबी गरेको छ ।

यस्तै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर कुमारीले आफू र प्रतिवादी झालाई गैरकानूनी लाभ पुर्‍याउनका लागि बढी मूल्य तिरी झोला खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

आयोगले प्रोप्राइटर कुमारीविरुद्ध ३ लाख ६८ हजार ८८० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077